प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२६

भक्तपुर, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।              उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।

अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न ६ जना पक्राउ
२०७९-०४-२०

काठमाडौं, अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका-७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ,  काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका-८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका-६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका-१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।   काठमाडौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।  घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।              उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ ।

नक्कली परीक्षार्थी पक्राउ
२०७९-०४-२०

भक्तपुर, नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।               मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।              यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०७९-०४-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङ रावावेशी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।            यसैगरी बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

राजस्व छलि ल्याएको सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ
२०७९-०४-१९

काठमाडौं, भारतबाट कच्चा सुर्ती राजस्व छलि ल्याई भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने सर्लाही बिष्णु गाउँपालिका-३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।            काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौ कुलेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द र सुरेशले संचालन गरेको ललितपुर महानगरपालिका-२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएपछि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त उद्योग, नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तलासी गर्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २ सय केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो । उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ ।              पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०४-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।            कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।             अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।             मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’              प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।              उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।             कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।             काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।              उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०७९-०४-१७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको निर्णयले प्राविधिक तथा जनपदतर्फका विभिन्न पदमा पदोन्नति भएका १० जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी नायव महानिरीक्षक किरण राणाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा  मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ हवल्दारबाट सोही समुहको प्रहरी सहायक निरीक्षक २ जना, प्राविधिकतर्फका प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा ३ जना  र जनपद तर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा ५ जना  रहनुभएको छ ।  पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
२०७९-०४-१२

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा आज मिति २०७९ श्रावण १२ गते एक समारोहका बिच यस कार्यालयको सभाहलमा उपत्यका स्थित जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूले  राखेका जिज्ञासा निरुपण गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाले धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर राना लगाएत अन्य प्रहरी कर्मचारीहरू, लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरू र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।    उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।   

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम
२०७९-०४-०६

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।         कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।             प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।             काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०४-०१

         काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन सहित महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<